International News

दक्षिणी फिलिपिन्समा आंँधीका कारण ७४ जनाको मृत्यु, दर्जनौं बेपत्ता

पुस ८, २०७४

फिलिपिन्सको दक्षिणी क्षेत्रमा आँधीका कारण ७४ जनाको मृत्यु भएको छ । दर्जनौं बेपत्ता भएका छन् । टेम्बिन नामक चक्रवातका कारण मिन्डानाओ टापुमा जनजीवन अस्तब्यस्त भएको बीबीसीले उल्लेख गरेको छ । ट्युबोट र पियागापोमा दर्जनौं घरहरु पुरिएका छन् । ८० किलोमिटर प्रतिघण्टाको टेम्बिन आँधी पश्चिमी दक्षिण क्षेत्र पालावान तर्फ अघि बढीरहेको अधिकारीले उल्लेख गरेका छन् । आँधीका कारण फिलिपिन्सका बिभिन्न क्षेत्रमा बारम्बार क्षति पुग्ने गरेपनि मिन्डानाओ टापुमा भने पहिलो पटक क्षति पुगेको हो । ट्युबोट प्रहरीका अनुसार सो शहरमा मात्र १९ जनाको मृत्यु भएको छ । नदीमा पानीको सतह बढेका कारण छेउछाउका घरहरु सबै बगाएको प्रहरीलाई उद्यृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आँधीका कारण विद्युत कटौती र सञ्चार सेवा समेत विच्छेद हुँदा सर्वसाधारण थप मर्कामा परेका छन् । एक साता अघि मात्र मध्य फिलिपिन्समा आएको आँधीमा परी दर्जनौंको मृत्यु भएको थियो । यसअघि सन् २०१३ मा सोही क्षेत्रमा टाइफोन हइयान नामक आँधीका कारण ५ हजार बढीको मृत्यु भएको थियो भने लाखौं प्रभावित भएका थिए ।