General News

प्रहरीले गोली चलाउँदा कालिकोटमा एक म्यादीको मृत्यु

कालिकोट — म्यादी प्रहरीले सेवासुविधा कम भएको भन्दै जिल्ला प्रहरीविरुद्ध आन्दोलन गरेपछि गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रासकोट नगरपालिका-२ का २१ वर्षीय म्यादी प्रहरी विवेक ऐडी रहेका छन् ।

जिल्ला प्रहरीले विभिन्न शीर्षकमा बैंक खातामार्फत् ५५ दिनको ५८ हजार तलब दिइएकोमा म्यादीले चित्त नबुझेको भन्दै आन्दोलन गरेका हुन्। शुक्रबार बिदाइ गर्नुअघि जिप्रकाले सेवासुविधासम्बन्धी जानकारी गराएपछि रकम कम भएको भन्दै उनीहरु नाराबाजीसहित आन्दोलनमा उत्रेका थिए। उनीहरुले प्रहरी कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाउँदा ऐेडीको टाउकोमा लागेर मृत्यु हुन पुगेको छ।
ऐडीको मृत्यु भएपछि जिल्ला सदरमुकाम मान्मास्थित प्रतिमा चोक र जिरो पोइन्टको प्रहरी विट भत्काइदिएका छन्।

अहिले स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए।