General News

ग्यास उद्योग आगलागी घटनामा थप एकको मृत्यु

सुपर ग्यास उद्योगमा आगलागी हुँदा गम्भीर घाइते भएका वीरगञ्ज महानगरपालिका बारुणयन्त्र शाखाका फायरम्यान सन्जिव नेपालको मृत्यु भएको छ । राजधानीको किर्तिपुर अस्पतालमा उपचारका क्रममा २२ बर्षिय नेपालको आज मृत्यु भएको वीरगञ्ज बारुणयन्त्र शाखाका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले बताउनुभयो ।

सोही आगलागीमा गम्भीर घाइते भएका बारुणयन्त्र चालक अरुणकुमार महतोको राजधानीकै ट्रमा सेन्टरको आइसियु कक्षमा उपचार भईरहेको छ । यसअघि फायरम्यान यादव अधिकारी र हवल्दार मधुशुदन मिश्रको जलेर घटनास्थलमै मृत्यु भएको थियो ।

आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने बारुणयन्त्रका कर्मचारीको बिमा समेत नरहेको भन्दै कर्मचारीहरुले भने चिन्ता व्यक्त गरेका छन् । महानगरपालिकाको कूल ४ बारुणयन्त्र मध्ये एउटा भने जलेर क्षतिग्रस्त भएको छ ।

उद्योगको आगो निभाउन खटिएका ५ मध्ये सकुशल अवस्थामा रहेका हवल्दार रामायण दास तत्वाले घटना शंकास्पद भएको बताउनुभयो । आफूहरु आगो निभाउन जाँदा सो उद्योग भित्र कोही कर्मचारी नभएको तथा नजिकको वस्ती समेत खाली रहेकाले जानीजानी वारुणयन्त्र कर्मचारीलाई मृत्युको मुखमा धेकेलेको तत्वाको भनाई छ ।

वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले घटनाको निष्पक्ष र उच्चस्तरिय छानबिन गर्ने आश्वासन दिनु भएको छ ।